काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।
विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकामा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिन स्वीप गर्नुभएको छ, यो देशकै गौरव हो ।”
प्रधानमन्त्रीले भने, “तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी रु दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।”
“पहिला–पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन”, प्रधानमन्त्रीले अगाडि भने, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।”
सरकारमा हुँदा होस् वा नहुँदा होस्, आफू सधैँ खेलाडीको साथमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको बताए । उनले भने, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ ।”
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकामा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।