एटिएम मेसिन फोर्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ

22

काठमाडौँ, ११ फागुन । पोखराका विभिन्न बैंकका एटिएम मेसिन फोर्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट भर भइ हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने २१ वर्षीय शुशील चाम्लिङ राई र लमजुङ घर भइ हाल छोरेपाटन बस्दै आएका अर्जुन भनिने लुबहादुर गुरूङ छन् ।

उनीहरूमाथि मंगलबार राति करिब १२ बजे पोखरा–१० रामबजारस्थित एनआइसी एसिया बैंक तथा साढे १ बजे पोखरा–१५ वन क्याम्पस गेटनजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटिएम मेसिन फोड्ने प्रयास गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार उनीहरूले एटिएम मेसिन तोडफोड गर्ने उद्देश्यले ढुंगामुढा, सिसिटिभी क्यामेरालाई समेत कागजले छोप्ने प्रयास गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...