विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु : प्रधानमन्त्री प्रचण्ड

35

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । “वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,” उनले भने ।

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भइसकेको चर्चा गर्दै उनले भने, “अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।”

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुनको कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए ।

उक्त केन्द्रका प्रमुख पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...