सुर्खेत, ६ फागुन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सत्तँ गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन् ।
प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको जिकिर गरे । उनले भने, “यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन । हामीले बनाएका हौँ । नेपाली माटोबाटै उत्पादन भएको हो । यसमा कुनै रासायनिक मल राखेको छैन । तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौँ ।”
अहिले सत्ता गठबन्धन भत्काउन लाग्नेहरूले गठबन्धन बन्दैछ भनेर थाहा नै नपाएको उनको भनाइ छ ।
उनले भने, “अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्ने बेलामा सुतिरहेका थिए । उनीहरूलाई शंकै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर । हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो । त्यसबेला पत्तै नपाउनेहरूले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन् ।”
एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए । उनले भने,“उहाँ आफैँ राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ ।” उनले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दाबी गरे ।