संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति शर्मा

57

काठमाडौँ, ५ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

महाशिवरात्रि तथा सेना स्थापनको २६०औँ वार्षिकोत्सवका अवसरमा आज सकल दर्जालाई सम्बोधन गर्दै उनले नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय जिम्मेवारी पूरा गर्न सकल दर्जाले देखाएको तत्परता, पहल र उपलब्धिले नै नेपाली सेनाको गौरवमय इतिहास र रचनात्मक वर्तमानलाई बचाइराख्न तथा उज्जवल भविष्यलाई निर्देशित गरेको बताए ।

प्रधानसेनापति शर्माले आइपर्नसक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकल दर्जाले पेसागत ज्ञान, सीप र बान्दोबस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरूस्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रधानसेनापति शर्माले भने,“हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन्झन् संवेदनशील र पेचिलो बन्दै गइरहेको छ, सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्र राष्ट्रका सेनासँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरू विस्तार गर्दै अघि बढेको छ ।”

उनले सरकार र जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि उच्च पेसागत र हौसलाका साथ हरहमेसा तयारी रहनुपर्ने हुँदा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिए ।

Share This:
सम्बन्धित खबर
Loading...