काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको छ ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियूमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारले जानकारी दिइन् । हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन् ।
अस्पतालका जलन उपचार विभागका प्रमुख डा.किरण नकर्मीका अनुसार सांसदसहित रहेका नेता डा.भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जिउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।
यस्तै, डा.भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा.नकर्मीले जानकारी दिए ।
उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।