लोत्से मलमा लुटपाट गर्ने ४ जना सार्वजनिक

47

काठमाडौँ, ४ फागुन । काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरेर विभिन्न पसल लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौँको सामाखुसी बस्ने नवीन खड्गी, रूपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेको जानकारी गराएको छ । अन्य संलग्नको खोजी कार्य जारी रहेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उक्त मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको सुपरमार्केट प्रालिमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायतका सामान चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले जरिबाना बढाएकामा घटाउनुपर्ने, माइक्रोबस व्यवस्थापनलगायतको माग राखी विभिन्न यातायात मजदुर संगठनले गरेको आन्दोलनका क्रममा यही फागुन १ गते त्यहाँ तोडफोडसहित लुटपाट भएको थियो ।

उक्त घटना भएको थाहा पाएपछि तत्कालै प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्कालगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न व्यक्तिको खोजतलास गरी अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको परिसरले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

उनीहरुबाट चोरिएका केही सामग्री बरामद गरिएको जानकारी दिँदै प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...