प्रतिनिधिसभाको शून्य समयमा क–कसले के भने ?

74

काठमाडौँ, ३ माघ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले यही फागुन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाबा बारेमा सरकार मौन बस्न नमिल्ने बताए ।

सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोंगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोंगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्ष गराए ।

सांसद शंकर भण्डारीले गत फागुन १ गते गोंगबु बसपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोंगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको व्यवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गरे । सांसद बनिताकुमारी सिंहले मधेसवासीको सुविधाका लागि निर्माण गरिएकाले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद् विश्वप्रकाश शर्माले दैनिक आत्महत्या गर्ने क्रममा वृद्धि हुँदै गएको र मानसिक समस्या र झन्झटिलो प्रशासनिक सेवालाई नियन्त्रण गर्नुपर्ने माग गरे । सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्क पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गरे ।

सांसद् शोभा ज्ञवालीले बर्दियामा बनेको पुल केही समयमै बिग्रिएको जानकारी गराउँदै तत्काल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरस्वती सुब्बाले काठमाडौँको सुकुमबासीलाई हटाउनुअघि उनीहरूको आवासको हकको सुनिश्चित गर्न माग गरिन् । सांसद सरिता प्रसाईंले किसानले अतिआवश्यक पर्ने बल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुमना श्रेष्ठले जनगणना भएको महिनौँ बितिसक्दा पनि त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक नभएको हुँदा सरकारी नीति निर्माणमा कठिनाइ भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरिन् ।

सांसद हितराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका काम अविलम्ब सम्पन्न गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए । सांसद हेमराज राईले जनताले समृद्धिका मताधिकारअनुसार काम गर्न आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...