ल्होत्से मलमा लुटपाट गरेको आशंकामा ४ जना पक्राउ

28

काठमाडौँ, ३ फागुन । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् ।

सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौँ सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो । जरिबानावापतको रकम घटाउनुपर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमति पत्र रद्द हुनसक्ने प्रावधान खारेजीको मागसहित सार्वजनि यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट मच्याएका थिए ।

लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले नयाँबसपार्क क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा अरू मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

काठमाडौँ प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीले लुटपाट आशंकामा केही मानिस पक्राउ परेको र उनीहरूमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

घटनास्थलमा रहेको सिसिटिभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकाले अरू मानिसको पनि संलग्नता हुनसक्ने भएर पक्राउ परेका मानिस सार्वजनिक नगरिएको उनले बताए ।

प्रदर्शनका क्रममा हिंसा भड्काएर लुटपाट र आगजनीमा संलग्नको खोजीका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँ प्रहरी र महाराजगञ्ज प्रहरीको टोली खटिएको छ ।

प्रहरीले घटनास्थलका सिसिटिभीका फुटेजहरू पनि संकलन गरिसकेको छ । सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीका भनाइ, प्रहरीसँग आएका अन्य तथ्य र प्रमाणका आधारमा अपराधमा संलग्नको खोजीकार्य जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...