२४ किलो चरेससहित ४ जना थाइ नागरिक पक्राउ

51

काठमाडौँ, ३ फागुन । अन्तरदेशीय अवैध लागुऔषध चरेस कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँका अनुसार चरेस नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ ।

जाँच गर्दा उनीहरूबाट झन्डै २४ किलो चरेस फेला परेको ब्युरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई पक्राउ गरिएको उनले बताए ।

उनका अनुसार उनीहरू थाइलाइन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका थिए । सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूको गतिविधि शंकास्पद देखेपछि लगेज जाँच गर्दा फल्स बटम बनाई लागुऔषध ओसारपसार गर्न लागिएको फेला परेको पनि रञ्जितकारले बताए ।

उनीहरूले फल्स बटम बनाएर लुकाई लैजान लागेको अवस्थामा २३ दशमलव आठ किलोग्राम चरेश बरामद गरिएको छ । उनीहरूले कोसँग कसरी चरेस खरिद गरेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...