काठमाडौँ, २ फागुन । यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट मंगलबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोबिएको भन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।
त्यसैगरी, सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुईपाङग्रे सवारी साधनका ४ हजार १९० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । गत मंसिर २७ गतेदेखि सुरु भएको यस अभियानमा आजसम्म ४ हजार १९० जना चालकहरू कारबाहीमा परेका हुन् ।
राइड सेयरिङ गर्ने मोटरसाइकल तथा स्कुटर सडकमा अनावश्यक रोकेर राख्नाले ट्राफिक व्यवस्थापनका साथै सवारी अवागमनमा बाधा पुग्ने भएकाले राइड सेयर कारबाही अभियानलाई तिव्रता दिइएको समेत प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।