काठमाडौँ, २ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे ।
अनेरास्विवियूको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । “हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकांक्षा गलत हुन सक्दैन,” उनले भने ।
अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रूपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे । “देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि आउँछन्,” उनले भने ।
अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध संगठन बनाउन आग्रह गरे ।