रामेछाप महिला उद्यमी संघको अध्यक्षमा डम्बरकुमारी भण्डारी

46

रामेछाप, २९ माघ । रामेछाप महिला उद्यमी संघमा नयाँ नेतृत्व चयन भएको छ । मन्थलीमा आइतबार सम्पन्न साधारणसभाले डम्बरकुमारी भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः तारादेवी थापा, संगीता श्रेष्ठ, गोमाकुमारी श्रेष्ठ र संगीता अधिकारी रहेकी छन् । त्यसैगरी सदस्यहरूमा रीता ढुंगेल, कविता श्रेष्ठ, विमला श्रेष्ठ र रमिता कार्की रहेकी छन् ।

मन्थलीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की खड्काले गरेकी थिइन् ।

कार्कीले महिला सशक्तिकरणबिना आर्थिक विकास सम्भव नहुने उल्लेख गर्दै भनिन्, “महिला उद्यमी संघको संस्थागत विकाससँगै महिलालाई स्थानीय उत्पादनमार्फत आर्थिक समृद्धिसँग जोड्नुपर्छ, त्यसका लागि स्थानीय सरकारले मुख्य भूमिका निर्वाह गर्नुपर्छ ।”

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले महिला उद्यमीलाई आफूले गर्ने कामको प्रस्ताव नगरपालिकामा पेस गर्न आग्रह गरे । उनले महिला उद्यमीबाट उत्पादित वस्तका लागि कोसेली घरको व्यवस्थापन गर्ने कुरामा पनि मन्थली नगरले अग्रसरता लिने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...