राज्यकोष दुरूपयोगलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त राई

36

काठमाडौँ, २८ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरूपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताएका छन् ।

आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले पूर्वाधार निर्माण बर्सेनि ठुलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको र तिनको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरूपयोग बढेको बताए । उनले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरूपयोग बढेको उल्लेख गरे ।

पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरूपयोग बढेको जिकिर गर्दै प्रमुख आयुक्त राईले भने, “राज्यकोषको दुरूपयोग र दोहन बढेको छ । तीनैै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्वतयारी बिना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना धेरै छन् । यस्ता कार्यमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।”

विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, सम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तर कार्यान्वयन नगर्ने पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने उनले बताए । पूर्वाधार निर्माणका लागि यन्त्र उपकरण खरिद गर्ने तर उपयोग नगर्ने र वर्षौँ वर्षसम्म अधुरै रहेका आयोजनामा संलग्न पदाधिकारीमाथि अनुसन्धान अघि बढाइएको प्रमुख आयुक्त राईले सो अवसरमा जानकारी दिए ।

सरकारी कोषबाट नियमित अनुदान लिइ कागजी रूपमा मात्र सञ्चालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म नभेटिने जिकिर गर्दै प्रमुख आयुक्त राईले यससम्बन्धी छानबिन अघि बढाइएको जानकारी दिए । राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यून बिजकीकरण तथा राजश्व छली नियन्त्रण गरी राजश्व प्रशासनमा सुधार गर्न उनले सुझाव दिए ।

Share This:
सम्बन्धित खबर
Loading...