काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संयुक्त बैठकलाई उनले शुक्रबार अपरान्ह ३ बजे सम्बोधन गर्ने छिन् ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्ने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्ने छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।