हराएका २० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई जिम्मा

34

काठमाडौँ, २६ माघ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पांग्रे सवारी साधन फेला पारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

दुई पांग्रे सवारी साधन हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

गत साउनदेखि हालसम्म दुई पांग्रे सवारी साधन हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९९७ वटा निवेदन प्राप्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३१४ वटा सवारी साधन अनुसन्धानका लागि ल्याइएको थियो । जसमध्ये साउन महिनामा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा, मंसिरमा ३७ वटा र पुसमा ५१ वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको थियो । यस्तै, माघ महिनामा मात्र ४३ वटा सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ ।

साथै आर्थिक वर्षमा २४ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृतहरूमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...