हेल्मेटभित्र लुकाएर ल्याएको १७ लाख नगदसहित दुई जना पक्राउ

25

काठमाडौँ, २६ माघ । पर्साको वीरगञ्जमा स्रोत नखुलेको १८ लाख रूपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ मा पर्ने वीरगञ्ज–रक्सौल खडकखण्डबाट बुधबार दुई जनालाई नगदसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

भारतका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन थपलिया कमाण्डको टोलीले उक्त रूपैयाँसहित पक्रेको हो ।

भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेशको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख रूपैयाँ बरामद भएको हो ।

यस्तै, प्रतिबन्धित ५०० दरका ४ थान भारतीय रूपैयाँसमेत फेला परेको थियो ।

उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको डिएसपी थापाले बताए ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...