काठमाडौँ, २५ माघ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समावेदना प्रकट गरेकी छन् । उनले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज टेलिफोन सम्पर्क गरी नेपालको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् ।
टेलिफोन वार्तामा परराष्ट्रमन्त्री पौड्यालले टर्कीएमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा लगिदिनका लागि आग्रहसमेत गरेको मन्त्रालयले जनाएको छ ।
नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरेको उल्लेख गर्दै उनले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धारकार्य जारी रहेको जानकारी दिँदै सहयोग प्रतिबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद दिए ।
नेपाल सरकारले टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।
टर्कीको दक्षिणी प्रान्त कहरामनामारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निुच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।