टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

23

काठमाडौँ, २५ माघ । नेपालले सोमबार बिहान गएको विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टिम तथा अत्यावश्यक राहत सामग्री पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आकस्मिक बैठकले टर्कीमा मेडिकल उपकरणहरुसहित मेडिकल रेस्पोन्स टिम एवं न्यानो लत्ताकपडासहितका अत्यावश्यक सामग्रीहरु पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले परराष्ट्र मन्त्रालयलाई यस सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न निर्देशन समेत दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गरिने बताए ।

उनले भने, ‘२०७२ सालको भूकम्पका बेला हामीलाई टर्की सरकारले सहयोग गरेको थियो । अप्ठ्यारोमा परेका बेला टर्कीका जनतालाई हामीले पनि सकेको सहयोग गर्नुपर्छ । त्यसैले, छिटोभन्दा छिटो सहयोग पठाऔँ ।’

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, विभिन्न मन्त्रालयका सचिव लगायत समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।

त्यसैगरी, उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल, टर्कीका अवैतनिक महावाणिज्यदूत पिपी खेतानको पनि उपस्थिति थियो ।

सोमबार बिहान टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पबाट बुधबार दिउँसोसम्म दुई देशमा साढे ९ हजारभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...