यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

58

काठमाडौँ, २४ माघ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले बागमनी बाँध आयोजनाको काम अघि बढाउन काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।

यस्तै, भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १०औँ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन् स्वीकृति दिने, सम्पति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने, २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि मान्य रक्षामन्त्रीलाई भ्रमणमा जान स्वीकृति दिने निर्णय गरेको उनले बताइन् ।

प्रवक्ता शर्माका अनुसार सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२औँ तहका डा.दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फर्स्ट फेसटुफेस मिटिङमा सहभागी हुन स्वीकृति दिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरूवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले न्याय सेवा आयोगको सिफारिस बमोजिम महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्रांकित विशेष श्रेषीको नायब महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने, बढुवा समितिकै सिफारिस बमोजिम विभिन्न मन्त्रालयअन्तर्गतका विभिन्न सेवा समूह, उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहका राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अष्ट्रियाको भियनामा आगामी चैत ६ गतेदेखि ८ गतेसम्म हुने ‘टिसी एसिया एन्ड दी प्यासिफिक एनएलओ वर्कसप’मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिलादेवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बैठकले फागुन १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा हुने क्षयरोग, एचआइभी एड्स र मलेरियासम्बन्धी दक्षिण पूर्वी एसिया क्षेत्रका मुलुकको गोष्ठीमा भाग लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता कौशल मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री शर्माले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...