काठमाडौँ, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढाएको बताएकी छन् ।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजना रहेको बताएकी हुन् ।
उनले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गरिन् । उनले आमसञ्चार क्षेत्रका लागि तत्काल बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकरात्मक रहेको बताइन् ।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन् । उनले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सवलीकरण हुनु भनेको राज्यको सवलीकरण हुनु सरह रहेको उल्लेख गरिन् ।
उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठुला–ठुला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।
मन्त्री शर्माले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन् । उनले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताइन् ।