काठमाडौँ, २१ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफ्नो पार्टीको दाबी नरहेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शनिबार बिहान सिंहदरबारमा विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबी नरहेको बताएका हुन् ।
आफूहरूसँग कुनै पनि दलले मत नमागेको अध्यक्ष नेपालको भनाइ छ । “व्यक्तिले माग्नु एउटा कुरा हो । तर, राजनीतिक दलमध्ये कसैले पनि भनेका छैनन् । त्यसैले परिस्थिति कस्तो हुन्छ, त्यसका आधारमा हामी फेरि बसेर कुरा गरौँला,” उनले भने ।
राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयनबारे छलफल गर्न शनिबार बिहान नेपाली कांग्रेसको संयोजकत्वमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी नेपालसहितको विपक्षी दलको बैठक बसेको थियो ।
राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ । त्यसका लागि आइतबार उम्मेदवारी मनोनयन र सोमबार निर्वाचन हुँदै छ ।
हाल ५८ सदस्यीय रहेको राष्ट्रियसभामा एमालेको १६, माओवादी केन्द्रको १५, कांग्रेसको १०, एकीकृत समाजवादीको ८, जनता समाजवादी पार्टीको ३, लोकतान्त्रिक समाजवादी पार्टीको १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र एक सिट छन् । त्यस्तै, राष्ट्रपतिबाट मनोनित ३ सिट छन् ।