सांसद चौधरी कारागार चलान

49

काठमाडौँ, २० माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँबाट धनगढी हुँदै कैलाली लगिएको थियो ।

उनलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

२०६६ भदौ ३ गते कैलालीको तत्कालीन बलिया गाविसका महादेव बजगाईको लु२त २११ नम्बरको ट्याक्टरमा आगजानी गरेको मुद्दामा सांसद चौधरी दोषी ठहर भएका थिए । ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाइएको भन्दै बजगाईले अरूण, वीरबहादुर र परशुराम चौधरीको नाममा मुद्दा दायर गरेका थिए ।

आगलागीबाट ८ लाख १९ हजार ४२३ रूपैयाँको नोक्सानी भएको भन्दै बजगाईले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बर बमोजिम सजाय मागदाबी गरेका थिए ।

२०७० वैशाख ९ गते कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले प्रतिनिधिसभा सदस्य चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १९ हजार ४२३ रूपैयाँ (दामाशाही) पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्ता गरेका थिएनन् । पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...