अर्थमन्त्रीद्वारा सहसचिवहरूको जिम्मेवारी हेरफेर, कसलाई कुन महाशाखा ?

53

काठमाडौँ, २० माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ टिम बनाएका छन् । उनले महाशाखा प्रमुखहरूको सरूवा र कार्यविभाजन हेरफेर गरेका छन् । मन्त्री पौडेलले मन्त्रालयका ६ सहसचिवको सरूवा गरेर नयाँ सहसचिव भित्र्याएर कार्यविभाज गरेका छन् ।

अर्थमन्त्री पौडेलले आफू अनुकूलको टिम बनाउन विगतमा अर्थ मन्त्रालयमा आफैँसँग काम गरेका सहसचिव ल्याएका हुन् । नयाँ कार्यविभाजनसँगै सहसचिव कृष्ण नेपालले आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मोरी पाएका छन् । नेपाल यसअघि पनि करिब २ वर्ष महाशाखा प्रमुख भएका थिए ।

त्यसैगरी, धनिराम शर्माले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् भने झक्कुप्रसाद आचार्यले वित्त क्षेत्रको व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाउँदा लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् ।

ईश्वरीप्रसाद अर्यालले वित्तीय संघीयता समन्वय महाशाखा, रितेशकुमार शाक्यले राजश्व व्यवस्थापन महाशाखा, सुमन दाहालले आर्थिक नीति विश्लेषण महाशाखा र कमलप्रसाद भट्टराईले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसका साथै सेवन्तक पोखरेलले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् भने शिवलाल तिवारीले भन्सार जाँचपास परीक्षण कार्यालयको जिम्मेवारी पाएका छन् ।

बुधबार नै सरूवा भएर आएका रमेश अर्याल र रामप्रसाद आचार्यलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

अर्थ मन्त्रालयका ९ महाशाखामध्ये बिहीबार ७ महाशाखाको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्री पौडेलले कानुन महाशाखा र योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखबाहेक मन्त्रालयका सबै महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री पौडेलले यसअघि नै अर्थ सचिवमा तोयम राया र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...