राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्छ : ओली

77

मोरङ, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउनुपर्ने बताएका छन् । विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्रीलगायत मन्त्रीहरू दिने सहमतिअनुसार वर्तमान सरकारमा सहभागी भएको हो ।”

पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिएको र त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको छ भन्दै यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्ट पारे ।

उनले लोकतन्त्रलाई बढी संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको औँल्याए ।

उनले नेपाली कांग्रेसले राजनीतिक संस्कार र चरित्र नराखेका हुनाले राष्ट्रपति पदमा उम्मेदवार उठाउँछु, हामीलाई दिनुस् भन्नु अनौठो कुरा नभएको बताए ।

अध्यक्ष ओलीले एमालेको राष्ट्रपतिमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान समीकरणको उम्मेदवार भएको स्पष्ट पारे ।

उनले नेकपा (माओवादी केन्द्रले राष्ट्रपति पदको उम्मेदवारका सम्बन्धमा राष्ट्रिय सहमति भन्नु वर्तमान नयाँ समीकरणका उम्मेदवारलाई नेपाली कांग्रेसले समर्थन गर्नु भन्ने तात्पर्य रहेको विचार राखे ।

Share This:
सम्बन्धित खबर
Loading...