अर्काको नाममा ट्रायल दिने र दिन लगाउने २ जना पक्राउ

30

काठमाडौँ, १९ माघ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको गौरी शंकर नगरपालिका ५ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देवबहादुर श्रेष्ठ र दोलखा घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपांग्रे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहारसम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत ठिमी भक्तपुरले जनाएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...