भ्रष्टाचार गर्नेमाथि कारबाही गर्ने पार्टी एमाले मात्रै हो : ओली

100

काठमाडौँ, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि कारबाही गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सामारोहमा बोल्दै उनले भ्रष्टाचारका घटनामा पार्टीले कसैलाई नजोगाउने स्पष्ट पारे ।

ओलीले भने, “कहीँ कहीँ अनुशासन उल्लंघनका घटना यहाँहरूले देख्नुभएकै होला, वैयक्तिक घटना हुन् । ती वैयक्तिक घटना हुन् । त्यसका जिम्मेवार ती अनुशासन उल्लंघनकर्ताहरू हुन्छन् । तर, हाम्रो पार्टीको नीति त्यस्तो होइन ।”

पूर्वप्रधानमन्त्री ओलीले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकर्ता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताए । उनले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिनसमेत आग्रह गरे ।

“हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो,” उनले भने, “हामी अनुशासित ढंगले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।” एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए ।

उनले भने, “कहिले कहिले सत्य कामजोर देखिन सक्छ । एकछिन सत्य कमजोर देखिए पनि सत्य बलियो देखिन्छ ।” अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ता पार्टीको वास्तविक विचार, संगठन, आचारणबाट अगाडि बढ्नुपर्ने भनाइ राखे ।

Share This:
सम्बन्धित खबर
Loading...