उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

48

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मगर १६६ मतसहित उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिराको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकै सोविता गौतम थिइन् भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन थिए ।

मुक्ताकुमारीको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सवेन्द्रनाथ शुक्ला थिए ।

मगर सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन् भने यादव विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...