काठमाडौँ, ६ माघ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताएका छन् ।
पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारूढ गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सकारले सच्याउनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले नेपालले सबै राष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताए ।
“हामीले दुईवटा छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन,” उनले भने, “असल छिमेकी बन्नका लागि भलो चिताएर उनीहरूको चासो, चिन्तालाई समेत यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ ।”
नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण हुन नदिने र देशको सार्वभौमसत्ता, स्वाधीनतामा कसैलाई प्रयोग हुन नदिने उल्लेख गर्दै ओलीले भने, “नेपालमा कुनै प्रकारका सैनिक राख्न दिँदैनौँ तर नेपालले सबैसँग मित्रता राखेको छ, कसैसँग पनि शत्रुता राखेको छैन ।”
अध्यक्ष ओलीले विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने उल्लेख गर्दै थपे, “विश्वभरि नै शान्ति कायम हुन सकोस, सबै देशको सार्वभौसत्ताको सम्मान हुन सकोस ।”