कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

27

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा नेकपा (बहुमत)का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले भने, “संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ । नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सुरू भएको छ। तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।”

भेटमा नेकपा (बहुमत)का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।

“राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु,” उनले भने, “जनयुद्ध, थारु, मधेसलगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ । यसअघि नै अध्यादेशमार्फत् विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकाले यो विषयमा अब संसद्‌बाट नै विधेयक गरेर अघि बढ्छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...