प्रतिनिधिसभाको बैठक आज बस्दै

38

काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुने छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुने छ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइने छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभामा १२ दलका नेताको सम्बोधन
प्रतिनिधिसभाको आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिने छन् । बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्ने छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुने छ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...