सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : ओली

46

काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसंगठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।

“वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्ने छ, तपाईहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो,” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ।

अध्यक्ष ओलीले सांकेतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । “बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ,” उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । “निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...