भालुबाङ, २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारका लागि जुन दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनु पर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री केसीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन अगाडिको सहकार्यक नेपाली कांग्रेस पनि इन्मारदारिता नभएकाले अब नयाँ सिराबाट कार्य थालनी गर्नुपर्ने बताए । माओवादी केन्द्रका अध्यक्ष नै यो देशको प्रधानमन्त्री हुनु पर्नेमा अडान रहेको उनको भनाइ छ ।
भर्खरै मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा बनेकाले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको उनले बताए । उनले भने, “नेपालमा यदि परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ, उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौँ, जसले प्रचण्डलाई प्रधामन्त्री स्वीकार्छ उसै दलसँग हुन्छ ।”
सत्ता समीकरणको कोर्ष नयाँ दिशामा पुगेकाले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने बताए । संघ सरकार प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरु मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने बताए । मुख्यमन्त्रीको यो भनाइलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।