सुकुमबासी बस्तीको समस्यालाई लिएर मेयर साहद्वारा प्रधानमन्त्री देउवासँग छलफल

64

काठमाडौँ, १३ मंसिर । काठमाडौँ महानगरपालिकाले बागमती नदी किनारमा रहेको अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र (बालेन) साहले आवश्यक छलफल थालेका छन् ।

सोमबारको अवस्थापछि बेलुका मेयर साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफलसमेत गरेका छन् । सोमबार थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुमबासीले घरेलु हतियारसहित ढुंगामुढासमेत गरेका थिए । सुकुमबासी बागमती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बागमती सभ्यता एकीकृत विकास समितिले बागमती सुकुमबासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो ।

तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुमबासी बस्तीमा पुगेको थियो । महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेका अनुसार महानगरको नीतिअनुसार नै अगाडि बढ्ने र यसबारेमा आज थप छलफल गर्ने तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...