सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गबन्धन र (२)मा एमाले विजयी

82
  • भविन कार्की

खाँदबारी ११ मंसिर । सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार १५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा.इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत प्राप्त गरे । खड्का पाँच हजार ४३९ मतान्तरले विजयी भएका हुन् ।

विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भीडन्त हो । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् । जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार ३३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार ७५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए ।

प्रदेशसभा (१)मा माओवादी विजयी


प्रदेशसभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार ४३३ मत ल्याएर निर्वाचित भएका छन् । कार्की ३४ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार ३९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार ५०४ मत खसेको थियो । प्रदेशसभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेशसभा (१) मा जितेको छ ।

प्रदेशसभा (२) एमाले विजयी


प्रदेशसभा (२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित भएका छन् । एमालेका लिङ्थेपले १५ हजार ४८२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार २४२ मत ल्याइन् ।

एमालेका लिङ्थेप दुई सय ४० मतान्तरले विजयी भएका हुन् । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख हुन् । गठबन्धनको साथ पाएका थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेकी छन् । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुन् । प्रदेशसभा (२)मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...