भोजपुरमा २३ सय बढी सुरक्षाकर्मी परिचालन

27

भोजपुर, २ मंसिर । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा २ हजार ३०० बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

जिल्लामा ८७ मतदानस्थल र दुई अस्थायीसहित १५७ वटा मतदान केन्द्र कायम गरिएका छन् । ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएका छन् । जिल्लामा ८६० जना म्यादी प्रहरी, ५३० नेपाल प्रहरी, २१५ सशस्त्र प्रहरी र करिब ७०० बराबर नेपाली सेना परिचालन गरिएको जनाइएको छ ।

जिल्लामा ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रजर्भ फोर्स’को समेत व्यवस्था गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवम् विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए । उनले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताए ।

निर्वाचनका लागि जिल्लामा १५७ जना मतदान अधिकृत, १५७ जना सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी गरी एक हजार ४७ जना कर्मचारी परिचालन गरिएको छ ।

जिल्लामा प्रतिनिधिसभातर्फ १२ जना, प्रदेश (१) मा सात जना र प्रदेश (२)मा ६ जना गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा ६४ हजार १२५ पुरूष, ५९ हजार २५३ जना महिला र एक जना अन्य गरी कुल एक लाख २३ हजार ३७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...