गलकोट, २९ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन् ।
मंगलबार गलकोटमा घरदैलो तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताएका हुन् ।
“केपी ओली प्रतिगमनकारी हुन्,” उनले भने, “संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली ‘बा’प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो ।”
तत्कालीन प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए । ओलीले संविधानको चिरहरण गरी दुई–दुई पटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद् विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायालयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दुरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उनको आरोप छ ।
ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताए । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताए । उनले शिक्षामन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अरबौँ रकम भित्र्याएको बताए ।
“बागलुङ जिल्लामा विद्यालय भवनका लागि बजेट हाल्दा विपक्षीले मेरो आलोचना गरे,” उनले भने, “ओली प्रधानमन्त्री हुँदा झापामा टावर हाल्दा उनको आलोचना नहुने मैले विद्यालय भवन निर्माणका लागि बजेट हाल्दा आलोचित हुन पर्ने ?” पौडेलले जनताको मौलिक हकसँग सम्बन्धित ३३ वटा कानुन निर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको उल्लेख गरे ।
देशमा वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेको सन्दर्श निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गरे ।
५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाए पनि जनताकै पक्षमा काम गरिरहेको दाबी गरे ।