मकवानपुर–२ मा खतिवडा र बर्तौलाबीच मुख्य प्रतिस्पर्धा

17

काठमाडौँ, २८ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि चार दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धताहरू मतादाताकाबीच पुर्‍याउँदै आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

मकवानपुरको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनतर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव विरोध खतिवडा र एमालेका तर्फबाट महेश बर्तौलाबीच दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी, राप्रपाकातर्फबाट राजन मैनाली, कांग्रेस (बिपी)को भरत पराजुली, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट रत्नप्रसाद प्रजापति मतदातासमक्ष पुगिरहेका छन् ।

यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनतर्फबाट कुमारी मोक्तान र २ (२)मा इन्द्रबहादुर बानियाँ तथा एमालेका तर्फबाट २ (१)बाट विष्णुप्रसाद ढकाल र २ (२) बाट लालबहादुर थापाबीच प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको क्षेत्र नम्बर २ मा एक लाख ५० हजार ५७८ जना मतदाता रहेका छन् । जसमध्ये पुरूष ७८ हजार ८९८, ७१ हजार ९७९ महिला र तेस्रोलिंगी एकजना रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ मा १९२ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । मकवानपुरको क्षेत्र नम्बर २ मा थाहा नगरपालिका, मनहरी, भीमफेदी, कैलाश, राक्सिङ, इन्द्रसरोवर, मकवनपुरगढी गाउँपालिकाको आधा भाग र हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ जना गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा तत्कालीन एमालेकातर्फबाट विसं २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् । उनी एक वर्षअघि एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...