भोटखोलामा मतदान सामग्री पठाउन थालियो

59

खाँदबारी, २८ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिको चारदेखि पाँच दिनसम्म लाग्छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली खटाएको हो । पहिलो चरणमा भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाकमा आज मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

जिल्लाको निकै दुर्गम र विटक क्षेत्र किमाथांका, रिदाक र थुदामसहित तीन मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका कर्मचारी र सुरक्षकर्मी खटाइको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले आजदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । भोटखोला गाउँपालिकामा पाँच वटा वडामा १० मतदान केन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिँड्नु पर्छ ।

भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिँड्नु पर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिनलगायत सामग्री बोक्नु निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिइएको थियो । भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिए ।

जिल्लामा दुई अस्थायीसहित १६४ मतदान केन्द्र रहेका छन् । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ उम्मेदवार चुनावी मैदान छन् । जिल्लामा एक लाख १७ हजार ५५४ मतदाता रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...