पाँचथर : आङ्देम्बे र नेम्वाङबीच मुख्य प्रतिस्पर्धा

142

पाँचथर, २५ कात्तिक । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री वसन्तकुमार नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

यी दुई नेताबीच दोस्रोपटक हुन लागेको प्रतिस्पर्धामा नयाँ मतदाता दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने आंकलन गरिएको छ । गत वैशाख २० गते स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा यहाँ गठबन्धनका दलको मत एमालेको भन्दा बढी छ ।

वडाध्यक्षले पाएको मतमा एमाले पहिलो पार्टी छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । ६० मध्ये आधा दर्जन वडामा अन्य दलका उम्मेदवारलाई समर्थन गरेको एमालेले बाँकी वडाबाट वडाध्यक्षमा कुल ३० हजार ८५८ मत पाएको छ । यस्तै, कांग्रेसले २५ हजार ६५, माओवादीले ११ हजार ८०८ र नेकपा (एकीकृत समाजवादीले) २ हजार १६१ मत पाएका छन् ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का प्रेमराज लावती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमलबहादुर चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलबहादुर लिङ्देन, नेकपा (माले)का दीननाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरूम्बाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राप्रपा नेपालका मदनकुमार पोखरेल, मंगोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकसमेत प्रतिस्पर्धामा छन् भने स्वातन्त्र उम्मेदवार मिक्लाजुङ–२ का दलबहादुर आङदेम्बे, फिदिम–१२ का बालकृष्ण काफ्ले, हिलिहाङ–३ का लाखबहादुर पालुङ्वा र मिक्लाजुङ–८ का बिस्टन लावतीसमेत चुनावी मैदानमा छन् ।

उम्मेदवारले विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता विषयलाई चुनावी एजेन्डा बनाएका छन् । कतिपय पहिचान पक्षधर उम्मेदवारले पहिचनका विषयमा समेत चुनावी एजेन्डा बनाएका छन् ।

पाँचथर प्रदेशसभा क्षेत्र नम्बर १ मा १० जना प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी तथा गठबन्धनबाट एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमलप्रसाद जबेगुबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

यहाँ संघीय लोकतान्त्रिक मञ्चका सागर केरूङ, जसपाका मचिन्द्रप्रसाद बेघा, राप्रपाका ओमनाथ बजगाईँ, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवा लिम्बू, राप्रपा नेपालका नेत्रकुमार बस्नेत र मंगोल नेसनल अर्गनाइजेसनका मनकुमार गुरूङ प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट फालेलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सञ्चकुमार केरूङ स्वतन्त्र उम्मेदवारी दिइ चुनावी मैदानमा छन् । यस क्षेत्रमा जिल्लाको याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका ११ वटा वडा पर्दछन् ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर २ मा ८ जनाको उम्मेदवारी छ । यस क्षेत्रमा एमालेका अइन्द्रबहादुर नेम्वाङ र गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यस क्षेत्रबाट जसपाका एबिराज आङ्देम्बे, राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङ (लाबाहाङ), राप्रपा नेपालका चन्द्रमाया बोहोरा, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापो र मंगोल नेसनल अर्गनाइजेसनका बलबहादुर बुर्जामगर समेत चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस क्षेत्रमा फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका ३ वटा वडा पर्दछन् ।

आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार ९३२ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए । मतदातामध्ये पुरूष ७३ हजार ३६६ र महिला ६५ हजार ५६६ रहेका छन् । १०२ वटा मतदान केन्द्र र १७७ वटा मतदानस्थल रहेको भट्टराईले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...