नुवाकोट, २५ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा अहिले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरु चुनावी अभियानमा मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरुलाई उनीहरुले आफूले गरेका काम र अब गर्ने काम के कस्ता छन् भन्नेबारे योजना सुनाइरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रको विकास कसरी गर्ने भन्ने भिजनसहित मतदाताको आँगनमा पुग्ने एक उम्मेदवार हुन् नुवाकोट क्षेत्र नम्बर १ (१) की राधिका तामाङ । वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार राधिका तामाङ नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मदवार रहेकी छन् ।
को हुन् राधिका तामाङ?
निडर स्वभाव भएकी राधिका तामाङ नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–३ (साविक लिखु गाविस–४) पोखरेमा वि.सं. २०४० साउन १७ गते जन्मिएकी थिइन् । बुवा शेरबहादुर र आमा राम्री तामाङको ३ छोरीमध्ये कान्छी छोरी हुन् राधिका । १५ वर्षको उमेरमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेकी उनी माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताको रुपमा सामेल भइन् ।
९ कक्षा पढ्दै गर्दा २०५७ मा भूमिगत भएर माओवादी जनयुद्धमा लागेकी उनी पार्टीको सैन्य संगठन जनमिलिसिया, पार्टी कमिटी इलाका सदस्य, जिल्ला कमिटी सदस्य, जनसरकार प्रमुख, राज्य समिति सदस्य हुँदै केन्द्रीय सदस्य बनेकी छन् ।
विद्यार्थी संगठनमा संगठित भएपछि राज्यले आतंककारीको आरोप लगायो र उनी भूमिगत हुन बाध्य भइन् । युद्धकालमा उनले पटक पटक तत्कालीन शाही सेनाको घेराबाट उम्केर आफ्नो जीवन बाँचेको अविष्मरणीय घटना आज पनि ताजै रहेको बताउँछिन् । भूमिगत अवस्थामा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, गोरखालगायत जिल्लामा उनी संगठनात्मक कार्यमा सहभागी भएकी छन् ।
माओवादीले समानान्तर सत्ता अभ्यासका लागि स्थापना घोषणा गरेको जनसत्ताको नुवाकोट जिल्ला जनसरकार प्रमुख भएर वि.सं. २०६१ देखि ०६३ सम्म जिम्मेवारी बहन गरेकी थिइन् । निवर्तमान प्रदेश उपसभामुख तामाङले २०७० सालको संविधानसभा निर्वाचनबाट संविधानसभा सदस्य र २०७३ साउन २९ देखि २०७४ जेठ २४ सम्म प्रचण्ड नेतृत्वको सरकारमा कृषिराज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेकी तामाङ २०७४ को निर्वाचनबाट प्रदेशसभा सदस्यमा नुवाकोट १(१) बाटै निर्वाचित भइन् र बागमती प्रदेशसभाको उपसभामुखको भूमिका कुशलतापूर्वक पूरा गरेकी थिइन् ।
यस्तो छ उनको पाँच वर्षे योजना
प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी तामाङले आफ्नो ५ वर्षे लक्ष्य सार्वजनिक गरेकी छिन् । उनको लक्ष्य मानव विकासमा जोड, भौतिक पूर्वाधारमा ध्यान भन्ने नारा रहेको छ ।
१.प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको बाँकी खण्ड मानेभञ्ज्याङदेखि राउतबेँसी, समुन्द्रटारसम्म निर्माण गर्ने ।
२.प्रादेशिक रणनीतिक सडक ढलानघर, कुण्डला, घलेभञ्ज्याङ, भ्याङले सडकको सुरुको खण्ड ढलानघर, स्याल्पिङ खोला, शिवालय सडकको स्तरोन्नती र कालोपत्र गर्ने ।
३.प्रादेशिक रणनीतिक सडक सुन्दरीजल, चिसापानी, गोल्फुभञ्ज्याङ, कुटुमसाङ, गोसाईंकुण्ड मार्ग निर्माण गर्ने ।
४.दुप्चेश्वरको समुन्द्रटारदेखि घ्याङफेदी सडक, समुन्द्रटार, राउतबेँसी, झगरे, गोल्फुभञ्ज्याङ सडक शिवपुरीको आइतरामपाटी, छाप, तलाखु सडक, रोल्चे, मानेडाडा, बोर्लाङभूमि स्कूल हुँदै शिवालय, गोल्फुभञ्ज्याङ सडक, पाटीभञ्ज्याङ, खोलेखर्क, कालोभञ्ज्याङ, बेतीनी सडक, तादी गाउँपालिकाको खरानीटार, टुटुङगा, उर्लेनी सडक, फेदीबेँसी, गणेशथान पौवाथोक, लच्याङ सडक, जिरोकिलोबाट डाडापाटो हुँदै लच्याङ, उर्लेनी सडक, सातबिसे बागमारा सडक स्तरोन्नती तथा कालोपत्र गर्ने ।
५. सुइरेचौर, घ्याङस्वारा, बागमारा, रान्चेभूमेमा पर्यटन पार्क निर्माण गर्ने ।
६.दुर्लभ वन्यजन्तु रेडपाण्ड संरक्षण गरी पाण्डा पार्क र लालिगुरास पार्क निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने ।
७.दुप्चेश्वर महादेव मन्दिर परिसरको बृहत्तर विकासमार्फत् धार्मिक पर्यटन प्रवर्द्धन गर्ने ।
८.सामुदायिक र सांस्कृतिक घारवास कार्यक्रम सञ्चालनमा जोड गर्ने ।
९.समुन्द्राफिनी धान र असला माछाको व्यावसायिक प्रवर्द्धनका लागि विशेष पहल गर्ने ।
१०.कृषिको व्यावसायिक उत्पादन्, बजारीकरण र प्रशोधनमा योजनाबद्ध पहल गर्ने ।
११.रैथाने बाली प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणको व्यवस्था गरी ग्रमीण अर्थतन्त्रलाई प्रभावकारी बनाउने साथै युवा स्वरोजगारका लागि विशेष व्यवस्था गर्न पहल गर्ने ।
१२.कृषि तथा प्राविधिक शिक्षाका लागि आंगिक कलेजको व्यवस्था गर्ने, आंगिक नभएको अवस्थामा सम्बन्धन लिई प्राविधिक कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड गर्ने ।
१३.क्षेत्रीय अस्पताल र सबै पालिकास्तरीय अस्पताललाई दक्ष जनशक्तिसहित सुविधासम्पन्न बनाउने ।
१४.स्वास्थ्य र शिक्षालाई नागरिकको पहुँचमा पु¥याइ गुणस्तरीय सेवा प्रवाहमा विशेष जोड गर्ने ।
१५.मातृभाषामा शिक्षाको व्यवस्था र बागमती प्रदेशकमा नेपाली भाषासँगै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा कार्यन्वयन गर्न पहल गर्ने ।
१६.महिलालाई सीप विकासमार्फत आर्थिक आत्मनिर्भर बनाउने साथै हरेक निकायमा समानुपातिक सहभागिताको व्यवस्था गर्ने । छोरी–बुहारी शिक्षा कार्यक्रमका लागि छात्रावृत्तिको व्यवस्था गर्ने ।
१७.न्याय र सुशासन कायम गर्न दृढतापूर्वक लागि पर्ने ।