काठमाडौँ, २४ कात्तिक । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षाकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उनको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उनको भनाइ छ ।
नेपाल चीन उद्योग वाणिज्य संघको २३औँ वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा आयोजित समारोहमा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।
“हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचीलाई मध्यनजर गर्दै नेपाली वस्तु निकासी गर्न सक्नुपर्छ र यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघलगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक छ,” उनले भने ।
चीनजस्तो संसारकै आर्थिक रुपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हाम्रा लागि नेपालका लागि ठुलो अवसर पनि भएको र चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादनहरु निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उनको भनाइ छ ।
पछिल्लो दशकमा भूकम्प, पहिरो तथा कोभिड महामारी जस्ता कारणले नेपाल चीनबीचको व्यापारिक सम्बन्ध अपेक्षित विस्तार हुन सकेको उल्लेख गर्दै उनले नेपाली वस्तु निकासी गर्दा कच्चा पदार्थको प्रशोधन गरी पूर्ण रुपमा तयारी बस्तुमात्र निकासी गर्नुपर्ने धारणा राखे ।
नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले दुवै मुलुकबीच रहेको पुरानो सम्बन्धलाई अब व्यापार व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)का अध्यक्ष रेन होङबिनले शुभकामना पठाउँदै कोभिड महामारीका कारण द्विपक्षीय व्यापारमा कमी आएको उल्लेख गर्दै आउँदा दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गरे । अध्यक्ष होङबिनले पठाएको शुभकामनामा भनिएको छ, “हामी आशा गर्छौँ कि महामारी पछि हामीसँग सहयोग जारी राख्न, दुवै देशका उद्यमहरूको लागि राम्रो प्लेटफर्महरू प्रदान गर्ने थप अवसरहरू हुनेछन् ।”
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापारघाटा २ खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणहरु रहेको बताए ।
कोभिड महामारीपछि चीनमा ठुला व्यापारिक मेला हुन नसक्नु र नेपाली व्यवसायीले पहिलेजसरी खुला रुपमा भ्रमण गर्न नसक्नेजस्ता कारणले निकासी व्यापार प्रभावित भएको उनको भनाइ छ ।
नेपाल र चीनबीच रहेका मुख्य दुई नाका तातोपानी र केरुङमा लागु भएको कोटा प्रणाली अन्त्य भइ पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने तथा चीनका विभिन्न गन्तव्यमा सिधा उडान गर्दै एयर कनेक्टिभिटी बढाउनु पर्ने आफूहरुको माग रहेको अध्यक्ष तुलाधरले बताए । दिगो पर्यटकीय विकासका लागि स्थल नाकाबाट पनि पर्यटकलाई आवतजावत गर्न दिइनुपर्ने उनको भनाइ छ ।
संघले चीन र नेपालबीच रहेको भुक्तानीमा अवरोध हटाउन माग गरेको छ । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्बन्धमा नेपालका प्रधानमन्त्रीको हरेक पटकको चीन भ्रमणमा द्विपक्षीय सहमति हुँदै आए पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसकेको अध्यक्ष तुलाधर बताउँछन् ।
“दुई देशबीचको व्यापार अभिवृद्धिका लागि चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने व्यवस्था र नेपाली तथा चिनियाँ वाणिज्य बैंकबीच भुक्तानीसम्बन्धी सम्झौता हुनुपर्छ,” अध्यक्ष तुलाधरले भने, “हाम्रो व्यापारिक भुक्तानीका लागि मात्र नभइ नेपालमा चिनियाँ लगानी भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि पनि यो निकै महत्वपूर्ण छ ।”