दीपक खड्काले भने– भ्रष्ट जनप्रतिनिधिलाई ४ मंसिरमा दण्डित गरौँ

42

खाँदबारी, २१ कात्तिक । सङ्खुवासभामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार दीपक खड्काले आफ्नो कार्यकालमा भ्रष्टाचारबाहेक केही नगरेको नेकपा (एमाले)का पूर्वजनप्रतिनिधिलाई ४ मंसिरमा दण्डित गर्न मतदातासँग आह्वान गरेका छन् ।

मादी नगरपालिका–१ उम्लिङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको बैठकलाई सम्बोधन गर्दै खड्काले पालिकाको नेतृत्वमा पाँच वर्ष बिताएर भ्रष्टाचारमा जिल्लाकै अग्रपंक्तिमा नाम लेखाएका जनप्रतिनिधि फेरि भोट माग्न आउँदै गरेकोमा सचेत गराए ।

“पालिकाको नेतृत्वमा बसेर भाइलाई ठेक्का दिलाउने, आफन्तलाई जागिर खुवाउने र कमिसन यकिन नभइ योजना स्वीकृत नै नगर्ने जनप्रतिनिधिहरू फेरि प्रदेश र संघमा भोट माग्न आउँदैछन् सचेत रहनुहोला,” उनले भने, “पाँच वर्ष जागिर मात्र खाएर बसेका ती जनप्रतिनिधिहरूसँग प्रश्न गर्नुहोस् । उनीहरूलाई मतदाताले दण्डित गर्नुपर्ने बेला आएको छ ।”

एमालेका जनप्रतिनिधिले जिल्लाको प्रदेश ‘ख’ का साविक १७ वटा गाविस जोड्ने रिङरोडको योजना नै रद्द गराइदिएको उनले सम्झाए । र, आफू विजयी भएपछि रिङरोडको योजना पुनः अगाडि बढाएर कालोपत्र गराउने उल्लेख गरे ।

कार्यक्रममा मतदाताले मादी नगरपालिकामा मुख्य समस्या सडक सञ्जाल भएको बताएका थिए । आफूहरूले गाउँमा सडकको ट्रयाक जोडिदिन र खुलेको ट्रयाक स्तरोन्नति गर्न आग्रह गर्दा एमालेका जनप्रतिनिधिहरूले कसैको ससुराली जाने सडक नबनाउने घोषणा सार्वजनिक कार्यक्रममै गरेको बताएका थिए ।

यस्तै, आफूहरूले विद्यालय भवन माग्दा एमालेका जनप्रतिनिधिहरूले ‘तपाईंहरूको गाउँमा स्कुल चल्दैन, स्कुस रोप्नुस्’ भन्ने जबाफ दिएको मतदाताले बताए ।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका खड्काले नगरवासीले झेलिरहेको सडकको समस्या समाधानमा आफू केन्द्रित रहने स्पष्ट पारे । विशेषगरी उनले टुटे–गुफापोखरी र सबै वडा जोड्ने रिङरोडको निर्माणलाई मुख्य प्राथमिकता दिने बताए ।

स्रोतः रेडियो सङ्खुवासभाबाट

Share This:
सम्बन्धित खबर
Loading...