बाँकेको विकासका लागि निरन्तर पहल गरिरहन्छु : मन्त्री गहतराज

21

कोहलपुर, २१ कात्तिक । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बाँकेको विकासका लागि आफूले नियमित रुपमा कदम उठाइरहेको बताएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री गहतराजले विगतदेखि नै बाँकेको विकासका लागि आवाज उठाइरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरिरहने बताएका हुन् ।

आफ्नो ५ वर्षे कार्यकालमा पटक–पटक सदनमा राप्तीसोनारीको विकासका लागि कुरा उठाउँदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई विकासको मूलधारमा ल्याउन सफल भएको उल्लेख गरे ।

बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री गहतराजले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पूरा गर्न जनताले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरे ।

कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ (क) लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना)ले नरैनापुर र राप्तीसोनारीको विकासका लागि थुप्रै कामहरु अगाडि बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताइन् । “हामीले केही कामहरु सुरु गरेका छौँ, ती कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ,” उनले भनिन् ।

कार्यक्रममा समानुपातिक उम्मेदवार संगीता थारु, उम्मेदवार रामकृष्ण विक, वाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपाने, सहसंयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदीलगायतले आफ्ना भनाइ राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...