कात्तिक १९, कोहलपुर । पूर्वजनमुक्ति सेनाका प्रतिनिधिहरुले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने बताएका छन् । शनिबार बिहान पूर्वजनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनीहरुले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन् ।
आफूहरुको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुले आफूहरु सधैँ अग्रगमनको पक्षमा रहेको बताए । महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट व्यवस्था बदलिए पनि आम नागरिकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुेपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ मा प्रतिनिधसभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ति सेनले खेलेको भूमिका अतुलनीय रहेको बताए ।
उनले आफ्नो ज्यानको बाजी राखेर व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात/अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे । “दश वर्षे जनयुद्धले वर्षौँदेखि जरा गाडेर बसेको व्यवस्थाको अन्त्य गर्यो”, माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका अथकले भने, “यो तपाईं हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।”
कार्यक्रममा बोल्दै प्रदेशसभा (ख)का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताए । हिजो परिवर्तनका लागि लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे । विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरूबीच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनाइ थियो ।
यसैबीच चुनावी अभियानकै क्रममा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले बाँकेको क्षेत्र नम्बर १ का विभिन्न क्षेत्रमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । अभियानकै क्रममा शनिबार कोहलपुर तथा राप्तीसोनारीका विभिन्न वडामा वडास्तरीय कार्यक्रम आयोजना गरिएका छन् ।
बाँके–१ मा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री गहतराज साझा उम्मेदवार छन् भने प्रदेशसभा (क) मा माओवादी नेतृ कृणा केसी (नमुना) र प्रदेश (ख) मा कांग्रेसका युवा नेता फुलाराम थारु चुनावी मैदानमा होमिएका छन् ।