सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने

55

काठमाडौँ, १८ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बुधबारदेखि सुरू भएको थुनछेक बहस बिहीबार पनि नसकिएका कारण मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।

सबैजसो अधिवक्ताहरूले सन्दीप निर्दोष रहेको, बलात्कार भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जिकिर गर्दै तत्काल रिहा हुनुपर्ने माग राखेका थिए । उनीहरूले बलात्कार गरेको कुनै ठोस प्रमाण अभियोजनमा नभएको दाबी गर्दै आफ्नो पक्ष निर्दोष रहेको जिकिर गरे । बलात्कार भन्दै दाबी गरिए पनि घटनास्थल मुचुल्कामा केही नभएको, डाक्टरको रिपोर्टले समेत बलात्कार पुष्टि गर्ने कुनै आधार नदिएको सन्दीपका वकिलको तर्क छ ।

बिहीबार दिनभर सन्दीपकै पक्षमा वकिलले बहस गरेका छन् । सुरूदेखि नै पीडित भनिएकी किशोरीको उमेरमाथि प्रश्न उठेको थियो ।

पहिलोपटक म्याद थप गर्दै अदालतमा किशोरी नाबालिग नरहेको लामिछाने आफैँले बताएका थिए । उनले बयानमा पनि यो कुरामाथि जोड दिए । तर, उनले अहिले किशोरी नाबालिग नरहेको भन्ने प्रमाण नै पेस गरेका छन् ।

अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बयानका क्रममा उनले किशोरीको उमेर १८ वर्ष बढी रहेको प्रमाण पेस गरेका हुन् ।

उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेस गरेका छन् । जसमा किशोरीको उमेर १८ वर्ष बढी छ । तर, किशोरीले पछि अर्कै जन्मदर्ता लिएको र त्यसमा उमेर घटाइएको दाबी लामिछाने पक्षको छ ।

बिहीबार बहस गर्दै पूर्वमहान्यायाधीवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले उमेरमा विवाद भएपछि जुन पहिलो लिएको छ, त्यसैलाई आधार मान्नु पर्ने तर्क गरे । उनले बहसका क्रममा निजामती सेवा ऐन पढ्दै भने, “उमेरको विषयमा विवाद भएमा जुन पहिले लिएको हो त्यसैलाई आधार मानिने छ । यसका केही उदाहरण पनि छन् ।”

उमेर विवादमा यसअघि अदालतबाटै भएका फैसलाका केही उदाहरण समेत श्रेष्ठले दिएका थिए ।

१७ वर्षीया किशोरीलाई बलात्कार पगरेको आरोपमा पक्राउ परेका सन्दीपविरूद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरू भएको थियो ।

लामिछानेविरूद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सोहीअनुसार लामिछानेविरूद्ध अधिकतम १२ वर्ष जेल सजायको माग दाबी गरिएको छ ।

यो पनि हेर्नुस्

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको माग दाबी

न्यायाधीशसामु सन्दीप लामिछानेले भने– जाहेरीवाला युवती नाबालिग होइनन्

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो

सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

Share This:
सम्बन्धित खबर
Loading...