बाँके–२ मा अग्रगमनलाई रोज्न मतदाता आतुर छन् : इश्तियाक राई

19

बाँके, १८ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँकेको क्षेत्र नम्बर २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारी थालेको छ । पहिलो चरणको घरदैलो अभियान सकिएपछि अब उसले क्षेत्रभरि उस्तै आक्रामक चुनावी अभियान थाल्ने जनाएको छ ।

निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई दोस्रो चरणका कार्यक्रमहरू गर्न अनुमति दिएको थियो। यो चरणमा जसपाले क्षेत्र नम्बर २ मा निर्वाचन आयोगले भनेअनुसार चुनावी आमसभा र मतदाता भेटघाट कार्यक्रमहरूलाई निरन्तरता राख्ने छ ।

जसपा बाँके क्षेत्र नम्बर २ का चुनाव प्रचार प्रसार समितिकाअनुसार बिहीबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाट गरेका छन् ।

अब जसपाले स्वंयसेवकहरूलाई खटाएर मतदाताहरूलाई मतपत्रमा सही तरिकाले छाप लगाउन सिकाउनेलगायतका कामहरू गर्नेछन् । त्यस्तै, केही दिनमै उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने पनि जसपाले जनाएको छ ।

बिहीबार भएका घरदैलो तथा भेटघाटहरूमा जसपाका बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका थिए।

‘मैले विगतमा काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ । तपाईंले हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौँ,’ उनले भने, ‘अब फेरि एकपटक हामीलाई मौका दिनुहोस् बाँकी रहेका विकासका योजनाहरूलाई पूर्णता दिनुछ र फेरि नयाँ योजनाहरूको सिर्जना पनि गर्नुपर्ने छ।’

उनले कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधैँ सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे।

‘अब पनि मतदातालाई बेवकुफ ठान्ने र विकास कुरा गर्न नसक्नेहरूले समाजिक सद्भाव भड्काउने खालका भाषणहरू गर्दै हिँडेका छन्’ उनले भने, ‘जनतालाई थाहा छ कस्ता उम्मेदवारलाई भोट दिने भनेर गाली गलौजले कसैले चुनाव जित्दैन।’

उनले फेरि पनि देशको शासन व्यवस्था खलबल्याउन खोज्ने र फेरि पनि उही पुराना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए।

‘बाँके क्षेत्र नम्बर २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन् । फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिँदै छ। पश्चगमनले कहिल्यै जित्न सक्दैन ।’

Share This:
सम्बन्धित खबर
Loading...