जनताले आर्थिक संकटबाहेक वास्तविक विकासको अनुभूति गर्न पाएनन् : खनाल

64

बाँके, १८ कात्तिक । बाँकेको क्षेत्र नम्बर २ संघीय सांसदका स्वतन्त्र उम्मेदवारले जनताले पटक पटक विश्वास गरेर पुरानै अनुहारलाई आफ्ना मतदान गरेर सरकार बनाए पनि राज्यबाट आर्थिक संकटबाहेक वास्तविक विकासको अनुभूति गर्न नपाएको बताएका छन् ।

चुनावी अभियानलाई तीव्रता दिँदै बिहीबार घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शिवसेनाका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले विकासको सपना देखाएर जनतालाई झुक्याएर पटक पटक जितेर सरकारमा गएका नेताहरु देशको कोष लुट्ने बाहेक कुनै सफलता हासिल गर्न नसकेको जिकिर गरे ।

उनले भने, ‘देशको आर्थिक स्थितिले धान्नै नसक्ने विषयहरुलाई आफ्ना प्रतिबद्धतामा समावेश गरेर जनतालाई विभिन्न लोभ लालचमा पारेर नेताहरु सरकारमा जाने र जनताले पसिनाको खोला बगाएर जम्मा पारेको कोषमाथि धावा बोल्ने गरेका छन् । दिनप्रति दिन देशको आर्थिक स्थिति कम्जोर हुँदै गएको र सास्ती भने जनताले खेप्नु परेको छ । मँहगाइ बढेको छ । देशको सबै पैसा बाहिर गइरहेको छ र भएका पैसा जति सरकारमा बलियो पकड राख्नेहरु भ्रष्टाचार गरेर आफ्ना भवन निर्माण, छोरा छोरीलाई पढाइका लागि विदेश पठाउने, व्यवसाय सञ्चालन, क्रेसरलगायतका अत्याधिक लाभ लिन सक्ने ठाँउमा कोष ढुवानी गरिरहेका छन् ।’

‘दिनभरि परिश्रम गरेर कमाएको पैसाबाट दुई छाक खाना पनि धौ धौ भएका जनतासँग हामी भेट्ने गरेका छौँ । कोभिडको बेलामा राजनितिक पकड बलियो बनाउनकै लागि केही तत्वहरु सडकमा देखिएका थिए । यति मात्र होइन, उनीहरु आफ्ना अभियानमा सफल पनि भए र अहिले त्यसको फाइदा उठाउँदै जनतालाई झुक्याइरहेका छन् । यो बेला जनता जागरुक हुन जरुरी छ, सहि व्यक्तिहरुलाई चिन्न जरुरी छ र त्यस्ता तत्वहरुलाई समाजबाट बाहिर फ्याल्न आवश्यक छ ।’

उनले थप भने, ‘अहिले केही त्यस्ता तत्वहरु राजनितिक गर्नकै लागि हिन्दुत्वको एजेण्डा उठाइरहेका छन् । तर, हामी हिन्दुहरुकै लागि राजनितिमा आएका छौँ । यो कुरा जनताले बुझिसकेका छन र आगामी निर्वाचनबाट देखाउने पनि छन् ।’

खनालले सडकमा आन्दोलन खडा गर्ने क्रममा चप्पलमा नभएको अवस्थाबाट सरकारमा गएका केही तत्वहरु अहिले राज्यको कोष ढुवानी गरेर अर्बौँको लगानी लाग्ने कुखुरा फारम र दानाको व्यवसाय, भवन निर्माण गरेका बताएका छन् ।

उनले भने, ‘यो पैसा कहाँबाट आयो ? केही महिनाका लागि मात्र सरकारमा गएका नेताले कहाँबाट ल्याएको पैसाबाट लगानी गरेको होला ? माथिदेखि तलसम्म सेटिङमा काम भइरहेको छ । सरकारले प्रदान गर्ने तलब, भत्ता, सेवा सुविधाबाट यत्रो ठुलो लगानी पक्कै हुन सक्दैन । मलाई त देशको धेरै चिन्ता लागेको छ कतै फेरि पनि जनता भुक्किने त होइनन् ? स्पष्ट देखिने विषयमा अख्तियार किन बोल्न सकेको छैन ?’

यतिबेला जनताको ध्यान भड्काउन हिन्दुको आस्थामाथि खेलवाड गरिरहेका छन् त्यस्तालाई जनताले समयमै चिन्न र चिर्न जरुरी रहेको उनको भनाइ छ ।

क्षेत्र नम्बर २ मा जनतासँग भेटघाटलाई तीव्र पार्दै जनताले भोगिरहेको पीडा र उनीहरुको आवस्यकताबारे जानकारी लिँदै निर्वाचित भए पश्चात उनीहरुको विषयलाई संसद्सम्म लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...