सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस ‘हेर्दाहेर्दै’मा

60

काठमाडौँ, १६ कात्तिक । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ ।

सो मुद्दामा सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरे। भोलि लामिछानेका तर्फबाट बहस हुने छ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनु पर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।

यो पनि हेर्नुस्

सन्दीप लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस
सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको माग दाबी

न्यायाधीशसामु सन्दीप लामिछानेले भने– जाहेरीवाला युवती नाबालिग होइनन्

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो

सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

Share This:
सम्बन्धित खबर
Loading...