कञ्चनपुर, १५ कात्तिक । पूर्वखानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो गृह जिल्ला कन्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतबेलौरी नगरपालिका वडा नम्बर ३, ४ र ६ मा सोमबार बृहत् घर दैलो कार्यक्रम गरेकी छन् ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कन्चनपुर क्षेत्र नम्बर १ बाट मगर साझा उम्मेदवार हुन् । मगरसहित प्रदेशसभा सदस्य–१ (क) बाट बन्धु राना र प्रदेश सभा सदस्य–१ (ख) बाट दिवान सिंह विष्टलगायतका उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन् ।
राना र विष्ट नेपाली कांग्रेसको तर्फबाट सूदुरपश्चिम प्रदेशसभा सदस्यका लागि प्रत्यक्षमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन् । त्यस्तै, माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा दीपा चौधरी र प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ प्रेमसिंह बोहरा र रामबहादुर देवकर ‘रक्तबीज’ को नाम छ । बोहराखस आर्य र देवकर दलित समुदायको कोटामा समानुपातिक सूचीमा छन् । चुनावी घर दैलो कार्यक्रममा पूर्वमन्त्री मगरसहित सबै उम्मेदवारहरु सक्रिय रुपले लागिरहेका छन् ।
माओवादी केन्द्रको पोलिटब्युरो सदस्यसमेत रहेकी मगर यसअघि २०७४ सालको चुनावमा पनि यहीँ क्षेत्रबाट विजयी भएकी थिइन् ।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मगरले कन्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बेलौरी, पुनर्वासनगरपालिका, लाल झाडी र बेलडाडीको समग्र विकास जस्तै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने बताइन् । निर्वाचित भए अहिलेको गठबन्धनकै समयमा यी सबै काम पूरा गरेर छाडिने उनले बताइन् ।
कन्चनपुरस्थित नेपाल र भारतबीच रहेको सीमा र भन्सारको समस्या समाधानमा आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने र कन्चनपुरबासीहरुको वर्षौँदेखिको समस्या हल गर्ने कार्यक्रममा उनले प्रतिवद्धता जनाइन् ।